पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

  माघ ०१, २०८०

काठमाडौँ, १ माघ : मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालुु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो ।  

चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो ।

यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाखले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपियाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपियाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । विभागका महानिर्देशक बाबुराम गौतमले लगानीयोग्य वातावरणका साथै नीतिगत सुधारका कारण मुलुकमा भित्रिने लगानीमा सुधार आएको जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति छ, प्रव्रिmयागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफल लैजानका लागि गरिने शीघ्र निर्णयले पनि यस वर्ष विदेशी लगानी बढेको उनको भनाइ छ  । कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको छ, महानिर्देशक गौतमले भन्नुुभयो । विभागले लगानी भित्रयाउने गरी प्रक्रियागत प्रणालीलाई सरलीकरण गराउँदै गएको उहाँको भनाइ छ ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । त्यसभन्दा माथिको विदेशी लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने जनाएको छ । 

सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको छ । लगानीको सीमा घटेका कारण साना लगानीकर्ताको आकर्षण बढ्दै गएको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया