काठमाडौं, २५ पुस : संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरू भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रतिलिपि उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबिच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
‘‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबिच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्रीलाई आभार प्रकट गर्ने, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबिच भएको सम्झौताको पूर्णरुप यस समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ,’’ सभापति सुवेदीले भन्नुभयो, ‘‘नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा सरकारी सङ्घ सङ्गठनहरूसँग सन्धि सम्झौताहरू सम्झौता भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण यस समिति सचिवालयमा उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने ।’’
समितिले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबिच भएको सम्झौताको विषयहरू समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रीत आभार प्रकट गर्ने निर्णय पनि गरेको छ ।






