यस्तो रह्यो भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण

  पुष १९, २०८०

काठमाडौं, १९ पुस : नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर बिहीबार व्यस्त हुनुभयो । 

भारतीय विशेष विमानमार्फत काठमाडौं आइपुग्नु भएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो । 

नेपाल भ्रमणको पहिलो दिन उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति 

उहाँको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाललगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको थियो । 

चार सम्झौता गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै  सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको छ । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री  एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

यसैगरी, दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न सकिनेछ । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था  तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । 

आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ ।  

परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको छ । विदेशमन्त्री डा जयशङ्करले पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि नै स्वदेश फर्कनुहुनेछ । 

तपाईको प्रतिक्रिया