काठमाडौँ, १४ पुस : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपाल ‘अविरल जनसाहित्य यात्रा’को ८५औँ शृङ्खलामा आज प्रा डा कपिल लामिछानेका एक दर्जन कविता एक दर्जन कविता प्रस्तुत गरिएको छ ।
रुपन्देहीको भैरहवामा रहेर सिर्जना, सङ्गठन, प्राध्यापन र सामाजिक रूपान्तरण अभियानमा सक्रिय वरिष्ठ साहित्यकार लामिछानेले ‘नयाँघर’, ‘महासमरमा’, ‘सिङ्गो मुलुक सलामीमा जुटेको छ’, ‘एक्काइसौँ शताब्दी पख्’, ‘सहिदको मःमः’, ‘यस्तो लाग्छ’, ‘कठपुतलीहरू’, ‘अक्टोपस १’, ‘अक्टोपस २’, ‘सेताहात्तीहरू’, ‘धरहरामा म’ र ‘बडा ! बडा !’ शीर्षकका बाह्र कविता वाचन गर्नुभएको थियो ।
लामिछानेको ‘अक्टोपस’ कवितासङ्ग्रह प्रकाशित छ । विसं २०३४ बाट साहित्ययात्रा सुरु गर्नुभएका र २०४२ देखि ‘मोहभङ्ग’ शीर्षकको कथा लिएर अविश्रान्त आख्यानमा सिर्जनारत उहाँका विविध विधाका दर्जनौँ कृति प्रकाशित छन् ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गणतन्त्रको स्थापनापछि जनताको जीवनस्तर उकास्ने र रोजगारी सिर्जना गर्ने पक्षमा अपेक्षित काम नहुँदा मुलुकको दूरावस्था भएकोप्रति कवितामा कठोर आक्रोश अभिव्यक्त भएको पाइएको जनाउनुभयो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयले हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट सन्देशसहितका सिर्जना गर्नुपर्ने बताउनुभयो ।
समीक्षक डा विदुला घिमिरेले सुनिएका सबै कविता गणतन्त्रकै सेरोफेरोमा घुमेका र जनताको बलिदानी सङ्घर्षले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि समृद्ध मुलुक अर्थात् नयाँघरको परिकल्पनामा केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
अविरल शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले बालबालिकालाई बाल्यावस्थादेखि नै असल विचारसहितका सिर्जना पढ्न दिएर सफल बनाउनुपर्ने मान्यता राख्ने लामिछाने स्रष्टा र द्रष्टा दुबै व्यक्तित्व हुनुका साथै पाठ्यक्रमका, समालोचनाका, अनुसन्धानका दर्जनौँ कृतिका स्रष्टा पनि हुनुभएको अर्थात् सिर्जना कर्मले नै परिचित र स्थापित स्रष्टा हुनुभएको धारणा राख्नुभयो ।
सङ्घका उपाध्यक्ष रमेश पोखरेलले यात्रामा समाविष्ट कविता र समीक्षालाई प्रकाशन गरिने र आगामी महिना कवि जयन्ती स्पन्दनका एकल कविता प्रस्तुत गरिने जानकारी दिनुयो ।