काठमाडौं, ८ पुस : नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरुभएको संकल्प यात्रा पुसको १ गते पाँचथरको चिवाभञ्ज्याङमा समापन गरेको सो संकल्प यात्राले नागरिकको समस्या संकलन गरी आगामी दिनमा सम्बोधनको प्रयास गर्ने प्रतिवद्धता एमालेले जनाएको छ । प्राकृतिक र सांस्कृतिक रुपले धनी मध्यपहाडी क्षेत्रलाई समृद्ध बनाए मात्र मुलुकलाई समृद्ध बनाउन सकिने एमालेको बुझाइ छ ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रमा युवालाई पलायन हुनबाट रोक्ने मुख्य चुनौती रहेको आफूले पाएको बताउनुभयो । संकल्प यात्राले स्थानीय नागरिकमा विकासको आशा जगाएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनतामा विकासको ठूलो आशा भरोसा छ, कृषिलाई आधुनिकीकरण गर्दै युवालाई स्वरोजगार बनाउने प्रयास हामी गर्नेछौं ।” पहाडी क्षेत्रमा फलफूल, तरकारी, जडीबुटीको खेती तथा हाइड्रोपावरको विकास गरी युवालाई स्वरोजगार बनाउन सकिन्छ, उहाँले भन्नुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ को एमाले अभियानका लागि स्थानीय नागरिकले सुझाव र माग राखेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “नागरिकले दिएको सुझाव र राखेको मागलाई लिपिबद्ध गरेका छौं, यसबारे राजनीतिक दल, विषय विज्ञहरुसँग छलफल र परामर्श गरी समाधानको प्रयासमा लाग्नेछौं ।” देशको अर्थतन्त्रको मेरुदण्ड पहाड भए पनि त्यहाँको प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसक्दा मुलुक समृद्ध हुन नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।

संकल्प यात्राका क्रममा ३० जिल्लाका जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अन्तरक्रिया गरेको जानकारी गराउनुहुँदै अध्यक्ष ओलीले राज्यको स्रोतको बाँडफाँट समुचित ढंगले हुन नसकेको बताउनुभयो । पहाडमा अहिले बाटोघाटोको विकास भएको, विजुलीबत्ती तथा टेलिफोन मोवाइल नेटवर्क सुविधा पुगेको भए पनि त्यसको सही व्यवस्थापनको खाँचो रहेको उहाँले बताउनुभयो ।
पहाडमा जीविकोपार्जनको अनेक उपाय रहे पनि युवालाई त्यसबारे प्रशिक्षित तथा स्रोत पहिचानमा राज्यको सहयोगको खाँचो रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त सिंचाइँको व्यवस्था भए तरकारी तथा फलफूल खेतीको राम्रो सम्भावना छ । बाख्रापालनको त्यतिकै सम्भावना छ । त्यहाँ जलविद्युत आयोजनाको विकास गरी पहाडलाई समृद्ध बनाउन सक्ने आधारहरु छन् ।”
“अब मुलुकलाई गरिब राख्ने छुट नरहेको बताउँदे अध्यक्ष ओलीले सहयोग गर्ने जुनसुकै मुलुकबाट सस्तो लोन लिएर देशको विकास गर्नमा ध्यान दिनुपर्छ । अमेरिका, भारत, चीन, जोसुकै मित्रराष्ट्र देश किन नहोस् नेपाललाई सस्तो लोनमा सहयोग गर्नुभयो भने लिनुपर्छ” उहाँले भन्नुभयो । सबै देशसँग समान मित्रताको नीति अख्तियारी गरी नेपालको समृद्धि अभियानमा अरुलाई पनि जोड्न सक्नुपर्ने उहाँको भनाइ छ ।

लोकतन्त्रप्रति औला ठड्याउने छुट छैन
अध्यक्ष ओलीले मुलुकको लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणाली र संघीयताप्रति कसैलाई औला ठड्याउने छुट नरहेको बताउनुभयो । सङ्कल्प यात्राका क्रममा जनताको चाहना पनि अहिलेको व्यवस्थालाई समृद्ध बनाउने रहेकाले राजनीतिक दलहरु इमान्दार प्रयास गरी यही व्यवस्थालाई बलियो बनाएर देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।
“हामीले भनेका छौं, देशमा अनेक प्रबृत्ति देखिए पनि लोकतान्त्रिक शासन व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिवद्धता हामीले जनाएका छौं । देशमा कुनै समस्या आउन नदिने र देशलाई समृद्ध बनाएर जनताको जीवनयापनलाई उन्नत बनाउने बाचा गरेर आएका छौं” अध्यक्ष ओलीले थप्नुभयो, “खरबौं रुपियाँको सम्पत्ति अरवमा बिक्री गर्ने प्रबृत्ति देशलाई समद्ध बनाउने अभियानको बाधक हो, एनसेलमा जोजस्तो मिलेमतो छ, त्यसको छानविन गरी दोसीलाई कारवाही गरिनुपर्छ ।”
अभियानको क्रममा केही ठाउँमा एमालेको अभियान छेक्ने प्रयास पनि भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसले अभियानमा कुनै समस्या नआएको प्रष्ट पार्नुभयो । लोकतन्त्रप्रति जनताहरु स्पष्ट रहेकाले सामाजिक सद्भाव गरी अघि बढ्ने सबैको चाहना रहेको बताउनुभयो ।
संकल्प यात्रा एक किसिमको सांस्कृतिक यात्राजस्तो भएको उहाँले बताउनुभयो । स्थानीय रहनसहन, गीतबास, बाजागाजासँग रमाउँदै गरिएको अभियानले जनतासँग एमालेको मन जोड्ने सहयोग गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महासचिव शंकर पोखरेलले १८ दिने अभियान एमाले जीवनका लागि ऐतिहासिक र महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । संकल्प यात्राले जनताको वास्तविक समस्या पहिचान भएको र आगामी दिनमा त्यसको क्रमशः सम्बोधनमा एमाले लागिरहने प्रतिवद्धता जनाउनुभयो । जनतासँग एमालेको अभियान जोड्न पाउँदा स्थानीय नागरिक खुशी भएको र त्यसले एमालेजनलाई पनि उत्साहित बनाएको उहाँले चर्चा गर्नुभयो ।
उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले मुख्यतः ६ वटा उद्देश्य राखी संकल्प यात्रा आरम्भ गरेको बताउनुभयो । जनताको समस्या र माग संकलन गर्न, नेपाल बनाइ छाड्ने सन्देश दिन रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, पार्टीको संस्थापक महासचिव पुष्पलाल लोकमार्ग (मध्यपहाडी लोकमार्ग) मा अभियान गरी जनतासँग साक्षात्कार गर्न, जातीय तथा सामाजिक सदभाव कायम गर्न, स्थानीय सरकारसँग सहकार्य गरी जनताको सुझाव संकलन गर्ने र सम्बोधनको मार्ग बनाउन र जनतासँग माग तथा समस्या संकलन गरिसकेपछि सम्बोधनको प्रयासमा पार्टी र देशको जिम्मेवारी आदि रहेको उहाँले प्रष्ट पार्नुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।
सात सङ्कल्प
(१) हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिनेछौं । परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनस्र्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौं ।
(२) सामाजिक विद्वेष, अतिवाद, हिंसा र अराजकताका कुनै पनि प्रयासलाई सफल हुन दिनेछैनौं । विधिसम्मत, कानुनमुताविक र लोकतान्त्रिक ढंगले प्रस्तुत हुने जुनसुकै विषयमा छलफल गर्न र लोकतान्त्रिक विधिबाट समाधान खोज्न हाम्रो पार्टी सधैं सकारात्मक छ । विचारमा बहुलता स्वीकार्ने तर भिन्न मत भएका दल वा समूहको उपस्थितिलाई समेत प्रतिबन्ध लगाउँछौं भन्नेखालका ‘तानाशाही सोच’ र व्यवहारलाई अस्वीकार गर्छौं ।
(३) हामी सुशासनको प्रत्याभूति गर्न, विकासको यात्रालाई निर्वाध अघि बढाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न सदनभित्र र बाहिर प्रयत्नशील रहनेछौं ।
(४) तपाईहरुले दिनुभएको सल्लाह सुझावको नासोलाई अलपत्र पर्न दिनेछैनौं । समस्या समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौं । आवश्यकताअनुसार जनदवाव दिनेछौं । वर्तमान सरकारले काम गरेन भने आफ्नो नेतृत्वको सरकार बन्नासाथ दिगो समाधान र कार्यान्वयन गर्नेछौं ।
(५) हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउनेछौं ।
(६) विज्ञसमेतको सुझाव र अध्ययनका आधारमा हामी यसको टेक्निकल अडिट गर्नेछौं र यसलाई स्तरीय, छरितो, दिगो र सुविधायुक्त राजमार्गका रुपमा विकास गर्नेछौं ।
(७) एमाले नेतृत्वविना नेपालको राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, तीव्र विकास, सुशासनको प्रत्याभूति र समृद्धि सम्भव नहुने तथ्य सुनिश्चित भएकाले पार्टीलाई बहुमत प्राप्त राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न लागिपर्ने सङ्कल्प पुनः दोहोर्याउन चाहन्छौं ।