अरु प्रवास जाँदा किसुनजी नेपाली माटोबाटै लड्नुभयो : उपसभापति खड्का

  पुष ०८, २०८०

काठमाडौं, ८ पुस : नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  

उहाँले पञ्चायत विरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गर्नुभएको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताउनुभयो।  उहाँले स्व. नेता बिपी कोइराला लगायतका नेताहरु पञ्चायतविरुद्धको आन्दोलनका लागि प्रवासमा गए पनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायत विरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोइराला लगायतका नेता प्रवासमा जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो।  त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ।  उहाँले नेपाल नछोडिकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर संघर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दाअघिका नेतालाई अगुवाइ गर्दै हिँड्नुभयो।  हामीले पार्टी र सरकार सञ्चालनमा उहाँले देखाएका बाटो, उहाँको निष्ठाको कुरा गर्छौं, जीवन जगतको कुरा गर्छौं, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ।  त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ। ’’

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया