वन्यजन्तुको ६० प्रतिशतभन्दा बढी अवैध व्यापारमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूह संलग्न

  पुष ०६, २०८०

काठमाडौं, ६ पुस : विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहको संलग्नता देखिएको छ ।

ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि, फरक र नयाँ बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

ती समूहले विलासिताका वस्तुको उत्पादन गर्न कच्चा पदार्थको रुपमा दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुका अङ्गहरु तथा वनस्पतिलाई प्रयोगमा ल्याउन अवैध ओसारपसार तथा कारोबार गर्ने गरेका छन् । पछिल्ला दिनमा जमिनमा बस्ने जनावरको विकल्पमा समुद्री जनावर, माछाको अङ्गहरुको अवैध कारोबार पनि बढेको देखिएको छ ।

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिहरुमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यालयले जनाए अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।

तस्करहरुले अवैध रुपमा लगेको सामानहरुलाई वैध बनाउन कानुनले बेचबिखन गर्न मिल्ने खालका वन्यजन्तु र वनस्पतिका अङ्गहरुको रुप परिर्वतन पनि गर्ने गरेको साइटिसको कार्यालयले जनाएको छ ।

नक्कली कागजप्रमाण बनाएर, अनुमति पत्रहरु किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएकाभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षणका आवश्यकता रहेको पनि साइटिसले जोड दिएको छ ।

साइटिसको सूचीमा परेका वनस्पति र वन्यजन्तुको अवैध व्यापार र ओसारपसार रोक्न चालिएको ग्लोबल ठन्डर अपरेसन अन्तर्गत सन् २०२३ को डिसेम्बरसम्म आइपुग्दा १३३ मुलुकका सीमा सुरक्षा, भन्सार, वन कर्मचारी तथा वातावरण संरक्षणकर्मी, सुरक्षाकर्मी लगायत हजारौँ कर्मचारीको सहभागिता रहेको साइटिसको कार्यालयले जनाएको छ ।

सन् २०१७ यताको विश्वभरीको यो सहभागिता निकै उच्च मानिएको छ । पछिल्ला दिनमा वन्यजन्तु र वनस्पतिको अवैध ओसारपसार र व्यापार हुन थालेपछि सन् २०१७ बाट कानुनको पालना र कार्यान्वयनमा साइटिसका पक्ष राष्ट्रहरुले अभियानकै रुपमा लिन थालेका छन् ।

साइटिसले दिएको जानकारी अनुसार बरामद भएका मध्ये ३०० केजीभन्दा बढी त हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने सय टनभन्दा बढी कछुवाका अण्डा पनि  छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् ।

जफत गरिएका मध्य दुर्लभ चराहरुका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अण्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानीजहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठहरु पनि छन् ।

यो अपरेसनमा सयौँ कार, ट्रक, कार्गाे पानी जहाज, पार्सल, सुटकेश, डुङ्गा प्रयोग भएको र ती वस्तुहरु खोजी गर्न तालिम प्राप्त कुकुर, एक्स रे स्क्यानर तथा चेकपोष्टमा आधुनिक मेसिनहरुको प्रयोग गरिएकाे बताइएको छ ।

साइटिस अधिकारीका अनुसार ग्लोबल ठन्डर अपरेसनका सबै नतिजा अझै आउन बाँकी छन् । ती नतिजालाई सन् २०२४ को जनवरीमा प्रकाशमा ल्याइनेछ । हालसम्म देखिएका तथ्याङ्कले दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अवैध कारोबारमा नियन्त्रण गर्नु मानव जातिका लागि थप चुनौती देखिन थालेको छ ।

साइटिस महासविच इभोन हिगुएरोले वन्यजन्तु अपराधमा संलग्न अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताउनुभएको छ । उहाँले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरुबीच थप समन्वय र सहयोग आवश्यकका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभएको छ ।

इन्टरपोलका महासचिव जुर्गेन स्टकले एक सन्देश दिँदै भन्नुभएको छ, महत्त्वपूर्ण र लोपोन्मुख जनावर, चराचुरुङ्गी, वनस्पति र काठलाई तस्करहरुले झन् लोप हुने अवस्थामा पुर्‍याउन थालेका छन् । यो डरलाग्दो अपराध सञ्जालसँग लडेर जित्नुपर्ने अवस्था छ । 

उहाँका अनुसार अन्तर्राष्ट्रिय वित्तीय अपराधको समेत सम्बन्ध रहेकोले राजनीतिक नेतृत्व सजग नभएसम्म कानुन कार्यान्वयन गर्ने निकायले मात्र धेरै प्रतिफल हासिल गर्न सक्ने अवस्था नरहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया