‘कन्भोकेशन’को त्यो ‘क्याप’

  पुष ०२, २०८०

चेत भट्ट

त्यो ‘क्याप’ मुनि संघर्ष लुकेको छ । ब्याचलर र मास्टर डिग्रीको त्यो ‘क्याप’भित्रको कथा धेरै नै भिन्न छ । भन्छन् त्यो डिग्री अब ‘जिमेल’बाट कुनै बहुराष्ट्रिय कम्पनीमा जान्छ त कसैको डिग्री कन्सल्टेन्सीमा । कसैको डिग्री बाकसभित्र त कसैको डिग्री भित्तामा फोटो बनेर । कसैको डिग्रीले राम्रो अवसर पाउछ त कसैको डिग्रीले त्यो मान्छे सँगसँगै दु:ख पाउछ । ‘कन्भोकेशन’को त्यो ‘क्याप’लाई बोल्ने मौका दिने हो भने त्यो ‘क्याप’ले आफ्नो कथा सुनाउने छ ।

नेपालजस्तो देशमा जहाँ आज पनि राम्रो शिक्षाको लागि संघर्ष गर्न पर्छ त्यो देशमा जीवनमा केही ठूलो गर्छु भन्ने आसले लगाइएको त्यो ‘क्याप’ले भोलि मेरो ढाका टोपीको इज्जत राख्ने छ कि छैन त्यो हेर्न बाँकी छ ।

धुलो खादै कलेज पुगेको ,विद्यार्थी आन्दोलन गर्दै पढेको , नेपाल बन्द र परिक्षा तालिका बिगार्दा बिगार्दै आफ्नो पढाइ सकेर त्यो ‘कन्भोकेशन क्याप’ नेपालीको लागि कुनै नोबेल पुरस्कारभन्दा कम हैन ।

हो यो त्यहि देश हो जस्मा एसएलसी/एसइईपछि ४० प्रतिशतले पढ्न छाड्छन्, १२ पछि ४० प्रतिशतले पढ्न छाड्छन् । घरको जिम्मेवारि , गरिबी र परिस्थितिले आज पनि धेरैको टाउकोमा त्यो ‘क्याप’ अडिन सकेन । विदेशमा पलायन हुन मन नभएको होइन तर देशमा नै केही गर्छु भन्ने सोचले अडिएको छ यो ‘क्याप’ । बच्चा काखमा राख्दै त्यो ‘क्याप’ ओढ्ने आमाले आफनो बच्चाको भविस्य बनाउदैछिन । त्यो चाउरी परेको अनुहारमा आज पनि जीवनप्रति सकारात्मक सोच छ । त्यो कलिलो अनुहारमाथि सजाइएको ‘क्याप’ कसैलाइ जीवनमा अघि बढ्न सिकाउदै छ । माउन्ट एभरेष्ट जस्तो त्यो चुचुरे ‘क्याप’भित्र धेरै खुशी र दु:खका पलहरु लुकेका छ्न् । केही जागीर नहुँदा घरबाट पैसा पु-याउँदै सकेको त्यो डिग्रीको आफ्नै कथा छ ।

आज देशमा बेरोजगारी छ, गरिबी छ तर फेरि पनि हजारौंले संघर्ष गर्दै आफ्नै देशमा आफ्नो युनिभर्सिटीको ‘क्याप’ लगाउदा गर्व लाग्छ । पक्कै पनि हार्भर्ड विश्वविद्यायलय, अक्सफोर्ड विश्वविद्यायलयजस्तो त्रिभुवन विश्वविद्यालय वा काठमाडौं विश्वविद्यालय नहोला तर दिक्षान्त ‘क्याप’मा लेखिएको कथा त्यहाका विद्यार्थीभन्दा धेरै भिन्न छ । त्यो क्यापले नेपालीलाई संघर्ष गर्न सिकाएको छ ।

तपाईको प्रतिक्रिया