लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा जग्गा खरिदबिक्रीका लागि फुकुवा

  मंसिर २१, २०८०

दाङ, २१ मंसिर : लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा जग्गा खरिदबिक्रीका लागि फुकुवा भएकाे छ । स्थायी राजधानीको घोषणासँगै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा जग्गा राेक्का राख्ने निर्णय गरेकाे थियाे ।

मालपोत कार्यालय लमहीले सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा आज बिहीवारदेखि फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी खरिदबिक्रीका लागि वैधता प्रदान गरिएको मालपोत कार्यालय प्रमुख मानबहादुर कुँवरले जानकारी दिनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रका आधारमा यो निर्णय गरिएको उहाँको भनाइ छ ।

राजधानी क्षेत्रमा पर्ने राप्ती गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ को जग्गा फुकुवा भएको हो । जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसँगै २०७७ सालमा जग्गा खरिदबिक्रीका लागि रोक्का गरिएको थियो ।

प्रदेश राजधानी रहने राप्ती गाउँपालिकाका पूरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया