बाजुराकी रोकायाले बाटोमै बच्चा जन्माए पछि ..

  मंसिर २०, २०८०

बाजुरा, २० मंसिर : बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माउनु भएकाे छ । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै  छोरी जन्माउनु भएकाे हाे ।

सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मंगलवार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमै छोरी जन्माउनु भएकाे स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ ।’

रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताउनुभयो । उहाँसँग अरु कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माउनु भएकाे उहाँको भनाइ थियो ।

रोकायाका यसअघि एक छोरा र एक छोरी छन् । उहाँले तीन वटा सन्तान बाटोमै जन्माउनु भएकाे हाे । बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन् । केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माउनु भएकाे थियाे ।

‘जिल्लाको गौमूल गाउँपालिका–३ माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१ बामुकी नानी रोकाया, हिमाली–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलगायतले पनि स्वास्थ्य संस्था जाँदै गर्दा व्यथा लागेपछि बाटोमै नवजात शिशु जन्माएका केही उदाहरण हुन्,’ रुगिन चौकीमा कार्यरत बिमला पाण्डेले भन्नुभयो । उहाँले यी केही उदाहरण मात्र भएको जनाउँदै बाजुराका दुर्गम गाउँका बाटो र घरमा सुत्केरी हुनेको सङ्ख्या धेरै रहेका बताउनुभयो ।

बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको ज्यान गइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्‍याउँदाको परिणाम रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनुभयो । सुत्केरी भएको बेला आराम नगर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रम गर्नेलगायत कारणले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा एकदेखि दुईजना महिला बाटोमै सुत्केरी हुने गरेकाे खड्काले जानकारी दिनुभयो । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उहाँको भनाइ थियो ।

बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको खड्काले बताउनुभयो । कडा परिश्रम, धेरै र कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया