पश्चिम नवलपरासी, २० मंसिर : पश्चिम नवलपरासीको सरावलमा एक निजी विद्यालयका शिक्षकले एक बालिकालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर-७ स्थित बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले कुटपिट गरेका हुन् ।
कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका हुन् । बालिकाको शरीरभर निलडाम बसेको छ ।
घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए । शिक्षक यादवले पटक-पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन् । राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जला राजभरले बताइन् ।
जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कुटपिट गर्ने शिक्षक फरार छन् । विद्यालयका प्रिन्सिपल जितेन्द्रकुमार यादवले यस विषयमा जिज्ञासा राख्दा प्रतिक्रिया दिन मानेनन् ।