दुई सय सात स्वयंसेविकालाई सम्मान

  मंसिर २०, २०८०

चितवन, २० मङ्सिर : भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ । बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गर्ने गरेको बताउनुभयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारले प्रदेशभरिका एक सय १९ वटा स्थानीय तहका चार सय ६१ स्वयंसेविकालाई सम्मान पनि गरेको थियो । रासस

तपाईको प्रतिक्रिया