बझाङमा मनोरञ्जनको लागि पेस्तोल पट्काउन दिने असई पदबाट निलम्बित, कहिले हुन्छ कारबाही ?

  मंसिर ०८, २०८०

बझाङ, ८ मंसिर : बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई पदबाट निलम्बित भएका छन् । छविसपाथिभेरा गाउँपालिक – ३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुस्कल चन्दलाई आज पदबाट निलम्बन गरिएको हो ।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्ष समेत रहेका अक्कल धामिलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए । खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई मिडियाले मंसिर ७ गते मिडियामा ल्याएको हो ।

घटना घटेको एक महिना भएपनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियोे । अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई तत्काल पदबाट निलम्बन गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत बहादुर शाहले बताउनुभयो ।
डिएसपी शाहका अनुसार पेस्तोल पट्काउने पुर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको छ ।

केही दिनमै प्रदेश प्रहरी कार्यलयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिने भएको छ । उक्त समितिको निष्कर्ष पछि धामीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने डिएसपी शाहको भनाइ छ ।

तपाईको प्रतिक्रिया