ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन : अर्थमन्त्री

  मंसिर ०५, २०८०

काठमाण्डाै, ५ मंसिर : ऋण लिएर तिर्दिनँ भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएकाे छ ।

अर्थतन्त्रलाई थप गति दिन आज मङ्गलवार निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री महतले भन्नुभयो, ‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो । तर ऋण लिएर तिर्दिनँ भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन । ऋण तिर्नैपर्छ । अप्ठ्यारामा परेकाहरूलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ । ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन । समस्यामा परेकाले केही समय पाउँ, केही सहज होस् भन्छ भने उसप्रति राज्यले केही सोच्ने छ ।’

अर्थ मन्त्रालयको तर्फबाट मन्त्री महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गर्भनर महाप्रसाद अधिकारीले बैठकमा तथ्याङ्कसहित देशको वस्तुस्थितिको यथार्थ प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सूचकाङ्कबाट देशको अर्थतन्त्र थप गतिशील हुनेमा धेरैजसाे सहभागी आशावादी बनेका थिए । 

‘हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या छन् । अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेको छ’, मन्त्री महतले भन्नुभयो, ‘यो विषयवस्तु सरकारले पनि बैठकमा राखेको थियो, निजी क्षेत्र र राजनीतिक दलबाट प्रतिनिधित्व गरेर सहभागीले पनि राखेका थिए । त्यसको सारांश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभयो ।’

भूकम्प प्रभावित क्षेत्रमा सरकारले उदारताका साथ सहयोगी हात अघि बढाइसकेको जनाउँदै अर्थमन्त्रीले भन्नुभयो, ‘मौद्रिक र वित्तीय नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेकालाई सहजीकरण गरेर अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्छ ।’

तपाईको प्रतिक्रिया