काठमाडौँ, ३० कात्तिक : इतिहासका बारेमा उपन्यास लेख्नुभएका साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ ।
तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको उहाँकी छोरी उमा घिमिरेले राससलाई जानकारी दिनुभयो । उहाँको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उहाँको जन्म विसं २००० साउन १५ गते भएको हो । उहाँका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चित्कार’, ‘सेरोफेरो’ नामका उपन्यास प्रकाशित भएका छन् । यसैगरी ‘यथार्थ’ कविता सङ्ग्रह, ‘विद्यालय लेखा प्रणाली’, ‘पृथ्वीनारायण शाह’ धारावाहिक प्रकाशन, ‘बिपी स्मृति ग्रन्थ’ सम्पादन–२०४८, ‘अरनिको’ लामो कथा, ‘हिन्दू संस्कृतिका वैज्ञानिक पक्ष’, ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोतपर्व’, ‘नीतिका कुरा’ कविता सङ्ग्रह सहलेखन, ‘बुद्ध’, ‘लमजुङे बाघ’, ‘कोसेली’, ‘छयासमिस’, ‘गङ्गालाल’, ‘नखाएको विष’ एवम् ‘धुम्वाफेवा र भृकुटी’ नाटक, ‘पौराणिक छन्दविधान’, ‘सूर्यकमल दन्त्यकथामा आधारित’ कृतिसहित विभिन्न पत्रपत्रिकामा लेख, रचना प्रकाशित भएका छन् ।
घिमिरेकाबारेमा नेपालीमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले शोध गर्नुका साथै उहाँको साहित्यिक जीवनलाई आधार बनाएर विभिन्न स्रष्टाले पुस्तकसमेत लेखेका छन् । उहाँले विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिको उपसभापति भएरसमेत काम गर्नुभएको थियो । साथै प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय हुनुहुन्थ्यो ।
उहाँका नाममा आशा प्रज्ञान केन्द्र विसं २०७९ मै स्थापना भएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा गत वर्ष नै केन्द्रले घिमिरेको सम्मानका लागि स्मृतिग्रन्थ प्रकाशन गरेको छ । केन्द्रले नागार्जुन नगरपालिकामा बसोबास गरी विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका २२ जनालाई सम्मान पनि गरेको अध्यक्षसमेत रहनुभएकी छोरी घिमिरेले जानकारी दिनुभयो । केन्द्रले प्रत्येक वर्ष उहाँले लेख्नुभएकामध्ये एउटा कृति प्रकाशन गरिने जनाएको छ । केन्द्रको हाल नेपाल, भारतका सिक्किम, आसाम र मणिपुर, क्यानडा, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशमा शाखा रहेका छन् ।
स्व घिमिरेका श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँका एक छोरा ३५ वर्षदेखि बेपत्ता भएकामा अझै कुनै खोजखबर प्राप्त नभएको पारिवारिक स्रोतले जनाएको छ ।