काठमाण्डौ, २५ कात्तिक : नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केका कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै यो सुझाव दिएको हो ।
पुसको जाडोमा पीडितहरुको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताउनु भयो । उहाँले स्थायी रुपमा सिकाइ केन्द्रहरु बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताउनु भयो ।
महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि अवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताउनु भयो । टोलीले अस्थायी आवास निर्माणका लागि जनशक्तिको अभाव पूर्तिका लागि सरकारले राजनीतिक दलहरु र संघ, संस्थाहरुसँग मिलेर काम गर्नुपर्ने पनि औंल्याएको छ ।
महामन्त्री थापाले भन्नुभयो, ‘अब जाडो शुरु भइसकेको छ । अस्थायी टहरा बनाउने काममा त्यहाँ करिब करिब ५०/६० हजार टहरा बनाउनु पर्नेछ । किनकि त्यति धेरै घरहरु बस्न नमिल्ने अवस्थामा छन । त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिना भित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठूलो भयावह स्थितिको सृजना गर्छ । त्यसका लागि अस्थायी टहरा बनाउने कुरा अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘अस्थायी टहरा बनाउने कुरा कस्तो गर्न सकिन्छ भनेर हामीले आफैँले गएर हेर्नुपर्छ भनेर हामीले जाजरकोटको दुई ठाउँमा नलगाड र खलंगामा दुई वटा स्थायी टहरा हामीले दुई दिन बसेर दुई वटा अस्थायी टहरा बनाएर हेर्याैँ । दुई जना दक्ष जनशक्ति, दुई वटा अर्धजनशक्ति र ६/७ जना सहयोगी हातहरु हुँदै गर्दा त्यहाँको भत्केकै घरको सामग्री हामीले प्रयोग गर्याैँ हामीले केही सामग्रीहरु बजारबाट किन्यौं । त्यो बजारबाट किनेको सामग्री र त्यो मिस्त्रीलाई दिने श्रमको रुपैयाँ जोडदै गर्दाखेरी ४० हजार रुपैयाँ भन्दा कममा करिब करिब ३४/३५ हजार रुपैयाँको सेरोफेरोमा छ घण्टा भित्रमा एउटा अस्थायी दुई कोठे टहरा बनाउन सकिने रहेछ । जुन टहराले कम्तिमा यो हिउँद त थेग्छ, थेग्छ । त्यस्तै पर्दाखेरी वर्षा पनि थेग्न सक्छ । यो अहिले बनाइएन भने त्यसपछि यसलाई कसैले पनि थेग्न सक्दैन ।’
टोलीले पीडितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि मंसिरको पहिलो हप्ताबाट पार्टीका नेता, कार्यकर्ता परिचालन गर्ने पनि प्रधानमन्त्री दाहाललाई जानकारी गराएको छ । महामन्त्री थापाले स्वास्थ्य संस्थाहरु अस्थायी रुपमा बनाउने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताउनु भयो । त्यसैगरी राहतको कामलाई अझै प्रभावकारी बनाउन पनि सरकारलाई टोलीले सचेत गराएको छ ।
महामन्त्री थापाले कर्णाली प्रदेश योजना आयोगलाई अहिले तत्कालका लागि विपद् व्यवस्थापनको कामको जिम्मा दिन उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिइएको बताउनु भयो । नेपाली कांग्रेले महामन्त्रीद्वय थापा र शर्मा र केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रको स्थागत अवलोकनका लागि पठाएको थियो । टोलीले प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउने काममा समेत सघाउ पुर्याएको थियो ।






