दमौली, १८ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार, राहत र सहयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ समितिले आज दुलेगौडामा आयोजना गरेको श्रद्धाञ्जलिसभामा सांसद पौडेलले भूकम्पपीडितलाई अहिले सहयोगको खाँचो रहेको भन्दै सरकारका तर्फबाट विशेष कार्यक्रम घोषणा हुनुुपर्ने बताउनुभयो ।
सङ्घीयता खर्चिलो भयो भनेर टीका–टिप्पणी भइरहेका बेला विपद्को यो घडीमा सबै प्रदेश सरकारले सहयोगको हात अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “स्थानीय तहले पनि पीडितले महसुस हुने गरी सहयोग गर्नुपर्छ”, सांसद पौडेलले भन्नुभयो ।
भूकम्पपीडितको उद्धार र राहतका लागि नेपाली कांग्रेसका तर्फबाट रु ५० लाख सहयोग गर्ने घोषणा भइसकेको भन्दै उहाँले थप सहयोग जुटाउन आफूहरू लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक नेपालीलाई चोट लाग्दा अर्को नेपालीलाई दुख्छ । हामी सबैले सहयोग जुटाएर पीडामा मल्हम लगाउने कोसिस गरौँ ।” रासस