अमेरिकी चीन नीति प्रमुखद्वारा बेइजिङका उच्च सीमा अधिकारीसँग भेटवार्ता

  कार्तिक १८, २०८०

वासिङ्टन, १८ कात्तिक : चीन नीतिबारे अमेरिकाका उच्च अधिकारीले बेइजिङमा चिनियाँ सीमा प्रमुखसँग ‘रचनात्मक र स्पष्ट’ वार्ता गरेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकी विदेश विभागका चीन संयोजक तथा चीन र ताइवानका लागि उपसहायक मन्त्री मार्क बी ल्याम्बर्टले शुक्रबार सीमा तथा महासागर मामिलाका लागि चिनियाँ महानिर्देशक होङ लियाङसँग भेटवार्ता गर्नुभएको हो ।

“दुवै पक्षले दक्षिण चीन सागर र पूर्वी चीन सागरको अवस्थालगायत विभिन्न सामुद्रिक विषयमा ठोस, रचनात्मक र स्पष्ट छलफल गरेका छन्,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण चीन सागरमा बेइजिङको खतरनाक र गैरकानुनी गतिविधिप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ, जसमा गत महिना चीनले दोस्रो थोमस शोलमा फिलिपिन्सको पुनः आपूर्ति मिसनमा ‘अवरोध’ गरेको र ‘अक्टोबर २४ मा अमेरिकी जहाजलाई असुरक्षित रूपमा रोकेको’ उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चीनका विदेशमन्त्री वाङ यीबीच वासिङ्टनमा भएको वार्तापछि यो बैठक भएको हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया