काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसले भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर गए राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्तिमार्फत सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।
साथै उहाँले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, तीव्र गतिमा उद्धारको कार्य गर्न, घाइतेको उपचार तथा राहतमा जुट्न सरकारसँग माग गर्नुभएको छ ।
सभापति देउवाले कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देशन दिँदै यस विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न सम्पूर्णमा अपील गर्नुभएको छ ।
उहाँले भूकम्पमा परी दिवंगत हुनु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।






