सडकमार्गबाट एकै हप्तामा झण्डै ४ सय विदेशी पर्यटक सोलुखुम्बु भित्रिए

  कार्तिक १७, २०८०

सोलुखुम्बु, १७ कात्तिक – सडकमार्गबाट मात्रै एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिएका छन् । पछिल्लो एक हप्तामा गाडीमार्फत् २ सय ४३ जना पुरुष र १ सय ८ जना महिला गरी ३ सय ५१ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ ।

याे अवधिमा ५६ जना महिला र ६१ जना पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी बाहिरिएका छन् । पर्यटकीय सिजन भएकाले विदेशीहरु काठमाण्डाैबाट स्थलमार्गमार्फत सल्लेरी हुँदै सगरमाथा क्षेत्र जाने क्रम बढिरहेको ट्राफिक प्रहरी जीवन बस्नेतले जानकारी दिनुभयो । कतिपय पर्यटकहरु गाडी नै रिजर्भ गरेर आउने गरेको उहाँको भनाइ छ ।

सल्लेरीबाट थामडाँडासम्म गाडी सञ्चालन भएसँगै काठमाण्डाैबाट स्थलमार्ग हुँदै सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशीको सङ्ख्या बढिरहेका छन् ।

काठमाण्डाैबाट खुम्बु आउने पर्यटकहरुका लागि रामेछापको मन्थलीबाट लुक्ला उडान भइरहेका छन् । तर काठमाण्डाैबाट मन्थली र त्यहाँबाट लुक्ला जान झन्झट हुने भन्दै कतिपय पर्यटकहरु सडकमार्गको प्रयोग गर्न रुचाउन थालेका छन् । मन्थलीबाट समयमा उडान नहुने र त्यहाँ उपयुक्त खान बस्नको समेत व्यवस्था नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको व्यवसायीहरु बताउँछन् ।

काठमाण्डाैबाट गाडीमा आउने पर्यटकहरु एकैदिनमा सल्लेरी पुग्छन् । त्याे दिन सल्लेरी तथा फाप्लुमा बास बसेर भोलिपल्ट त्यहाँबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ को थामडाँडासम्म जीपमा जाने गरेका छन्।

थामडाँडाबाट केही घण्टाको पदयात्रा पश्चात लुक्ला पुगेर बास बस्ने गरेको यातायात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । खुम्बु जाने विदेशीको सङ्ख्या बढेसँगै सल्लेरी–थामडाँडा चल्ने गाडीको सङ्ख्या  बढेको उहाँको भनाइ छ ।

सल्लेरीबाट थामडाँडासम्मको सडक कच्ची रहेकाले जीप मात्रै सञ्चालन हुने गरेको छ । यद्यपि सल्लेरीबाट खुम्बु जाने सडक कालोपत्रेको काम भने भइरहेको जनाइएको छ । 

तपाईको प्रतिक्रिया