काठमाडौँ १६ कात्तिक — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा तालाबन्दी खेपेर बिहीबारबाट उनी पदमुक्त हुँदै छन् । बुधबार पत्रकार सम्मेलनमा उनले ४ वर्षे कार्यकालको समीक्षा गरे ।
‘एक वर्षसम्म केन्द्रीय कार्यालय बन्द गरी निरन्तर काममा अवरोध गरियो,’ उनले सुनाए, ‘विभिन्न संघ/संगठनको आवरणमा स्वार्थी समूहद्वारा तालाबन्दी गरियो ।’ २०७६ कात्तिक १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए । त्यसपछि सबैभन्दा बढी त्रिविमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो । अन्य विद्यार्थी संगठन, आंशिक/करार प्राध्यापक संघ र कीर्तिपुरवासीले समेत एक वर्षभन्दा बढी समय तालाबन्दी भएको हो ।
विश्वविद्यालयमा भएको तालाबन्दीको विषयमा प्रतिनिधिसभामा समेत कुरा उठेपछि सम्बन्धित पक्षले ताला खुलाउने गरेका थिए भने केहीसँग सहमतिपछि ताला खुलेको थियो । तालाबन्दी, कोभिड महामारीलगायतका कारण आफ्नो कार्यकालमा योजनाअनुसार काम गर्न नसकिएको उपकुलपति बाँस्कोटाले गुनासो गरे । उपकुलपति नियुक्त भएलगत्तै उनले १५ बुँदे त्रिवि सुधार योजना घोषणा गरेका थिए ।
‘यी व्यावधानका बाबजुद जेजति सुधारका काम गर्न सफल भएँ, त्यसमा ज्यादा सन्तुष्टि लिन नसके तापनि विश्वविद्यालयलाई अधोगतितिर जानबाट रोक्नमा धेरै ऊर्जा खर्च भयो,’ उनले भने, ‘विश्वविद्यालयमा चाहेजस्तो सुधार गर्न भने सकिनँ ।’ यद्यपि उनीमाथि तालाबन्दीलगायत विरोध र अवरोध गर्ने पक्षसँग छलफल र संवाद गरी विश्वासमा लिन नसकेको आरोप भने लाग्ने गरेको छ ।
विश्वविद्यालयमा कसैले पनि तालाबन्दीलगायत गैरप्राज्ञिक गतिविधि गर्न नहुने भन्दै शिक्षण संस्थामा कुनै बहानामा हुने बन्दाबन्दीको चर्को आलोचना हुँदै आएको छ । लगातारको तालाबन्दी र अशान्त विश्वविद्यालयका कारण बाँस्कोटालाई पछिल्लो समय सरकारले अंगरक्षक उपलब्ध गराएको थियो । सम्भवतः अंगरक्षक पाउने उनी नेपालमै पहिलो उपकुलपति हुन् ।
विश्वविद्यालयमा सुरक्षाको वातावरण नै नभएपछि उपकुलपतिले अंगरक्षक राख्नुपरेको रजिस्ट्रार पेशल दाहालले बताए । उनकै कार्यकालमा उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले आक्रमण गरेको थियो । ‘कार्यकारी परिषद्को फाइल लुटिन थाल्यो । सरकारले पनि सहयोग गरेन,’ दाहालले भने, ‘विश्वविद्यालयमा उपप्राध्यापकदेखि डिन, उपकुलपतिसम्म कोही सुरक्षित छैनन् ।’ विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर्न सरकारले बेवास्ता गरेको उपकुलपति बाँस्कोटाले आरोप लगाए ।
उनको कार्यकालमा तालाबन्दीको मात्रै होइन, परीक्षा र नतिजा प्रकाशनको ढिलासुस्तीको समेत रेकर्ड कायम भएको छ । पढाइ सकिएको १२ महिनासम्म परीक्षा र परीक्षा भएको १८ महिनासम्म नतिजा प्रकाशन गर्न परीक्षा नियन्त्रण कार्यालय असफल रह्यो । बाँस्कोटाले भने कोरोना महामारीलाई परीक्षा र नतिजा सार्वजनिक गर्न विलम्ब हुनुको दोष देखाएका छन् । महामारीपछि सामान्य अवस्थामा फर्केकाले त्रिविले परीक्षा सकिएको एक सय दिनभित्रै नतिजा सार्वजनिक गर्ने उनको दाबी छ । त्यसका लागि विश्वविद्यालयले क्यालेन्डर लागू गरेको उनले जनाए ।
असहज र अवरोधका बाबजुद पनि वर्तमान पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा उल्लेखनीय काम भएको सूची सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयसँगै विश्वविद्यालयलाई प्रविधिमैत्री बनाइएको बाँस्काटाले कार्यकालको आखिरी दिनमा घोषणा गरेका छन् । त्रिवि स्थापनाकाल २०१६ देखिका दस्तावेज संकलन र त्यसलाई डिजिटल माध्यममा राख्ने काम भएको जनाइएको छ ।
त्रिवि प्रविधिमैत्री विश्वविद्यालयको बाटोमा अघि बढेको उनले जनाए । अनुसन्धानको बजेट आफ्नो पहलमा ५ करोडबाट ४१ करोड पुर्याइएको सुनाए । यद्यपि, टाइम्स हायर एजुकेसनले गरेको पछिल्लो सर्वेक्षणमा त्रिवि विश्व वरीयतामा एक हजार विश्वविद्यालयभन्दा पछि परेको छ । यसअघि एक हजारभित्र त्रिवि सूचीकृत हुन सफल हुँदै आएको थियो ।
उपकुलपति कार्यालयले ४ वर्षे अवधिमा भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको जनाएको छ । विश्वविद्यालय हातामा पर्खाल निर्माण, सडक कालोपत्र, केन्द्रीय पुस्तकालय भवन निर्माण, सडक बत्ती जडान, त्रि–चन्द्र लगायतका विभिन्न क्याम्पस भवन निर्माण थालनीलाई उपलब्धि मानेको छ ।
पदावधि सकिएर बिदा हुँदै गर्दा उपकुलपति बाँस्कोटाले सरकारलाई त्रिवि सुधारका निम्ति केही सुझावसमेत प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कुलपति रहने व्यवस्था नै बदल्नुपर्ने उपकुलपति बाँस्कोटाको सुझाव छ । प्रधानमन्त्री सरकार र पार्टी काममा अति व्यस्त हुने हुँदा विश्वविद्यालय विज्ञ सम्मिलित ट्रस्ट मोडलमा सञ्चालन गरिनुपर्ने उनको राय छ । खुला प्रतिस्पर्धाबाट कुलपति उपकुलपति चयन हुनुपर्ने उनले औंल्याएका छन् । त्रिवि सुधारका लागि शिक्षक, कर्मचारी र विद्यार्थी संघ–संगठनलाई राजनीतिकभन्दा शैक्षिक क्रियाकलापमा व्यस्त गराउनुपर्ने उनको तर्क छ ।
त्रिवि उपकुलपति बाँस्कोटाको कार्यकाल सकिन लाग्दा मंगलबार शिक्षा मन्त्रालयले नयाँ नियुक्तिका लागि सिफारिस समिति गठन गर्न कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्राचार गरेको छ ।