हाउस अफ कमन्समा अभिनेतृ कोइराला सम्मानित

  कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : अभिनेतृ मनीषा कोइराला बेलायती संसद् भवन ‘हाउस अफ कमन्स’ मा आयोजित समारोहमा सम्मानित हुनुभएको छ । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।

बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गर्नुभएको हो । चलचित्र कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनीषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ । सांसद हुसेनले अभिनेतृ कोइरालाले तीन दशकभन्दा बढी समय कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

बेलायतको दक्षिण एसियाली समुदायबिच लोकप्रिय उक्त अखबार निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान पाएपछि मनीषाले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर साझा गर्दै सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “म इमरान हुसैनी सांसद र एसियन स्ट्यान्डर्ड न्युजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई बेलायती संसद्मा उनीहरूको प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो भव्य समारोहको बिचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु । फातिमाको कथा आफैँमा अत्यन्तै प्रेरणादायी छ । उनी अझै समृद्ध हुने छिन् । भगवान्ले तपाईंलाई आशिष दिनुहुने छ र म यो सम्मानका लागि आभार व्यक्त गर्छु ।”

तपाईको प्रतिक्रिया