कञ्चनपुर, ८ कात्तिक : शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन् । अन्य छजना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको आर्थिक अबस्था कमजोर हँुदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन ।
नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् । शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिनुभएको छ ।
“विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन”, विद्यालयका प्रधानाध्यापक धर्मा ऐर (भण्डारी)ले भन्नुभयो, “ कक्षा अनुसारका शिक्षकको अभाव हँुदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।” विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन् । विद्यालयमा एक सय ६२ विद्यार्थी रहेका छन् ।
विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताउनुभयो । “विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ ।”
उहाँका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ ।
शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ ।