गुल्मी, ७ कात्तिक : गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको संझनामा लाखौँ रकम बराबरको भौतिक संरचना निर्माणमा गराएका छन् ।
मुसिकोट नगरपालिका–८ अन्तर्गत वामी मैदानमा रहेको खड्क निशान देवीको मन्दिर (वामी कोत) मा स्थानीय दाताबाट निःशुल्करुपमा प्रवेशद्वार निर्माणका साथै मन्दिरमा घण्टी र खँुडा प्रदान उपलब्ध गराएका हुन् ।
रोजगारीको सिलसिलामा विदेश गई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका मुसिकोट नगरपालिका–८ निवासी कृष्ण सापकोटा र सुदीप सापकोटाले आफ्ना स्व बुबा हरिलाल सापकोटा र आमा बुद्धीकला सापकोटाको स्मृितमा प्रदान गरिएको रु २२ लाख बाट कोतमा जाने मन्दिरको प्रवेशद्वार निर्माण गरिएको थियो ।
सापकोटाले धर्म र संस्कृतिको सम्वद्र्धन र जगेर्नाका लागि पनि केही गर्नुपर्छ भनेर पितृको सम्झनामा उक्त प्रवेशद्वार निर्माण गरेको बताउनुभयो ।
त्यसैगरी हाल जापानमै होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका वडा नं ८ दाल्का निवासी कृष्णप्रसाद सापकोटा, घनश्याम सापकोटा, गोपालप्रसाद सापकोटा, भीमलाल सापकोटा र राम सापकोटाले करिब रु चार लाख बराबरको लागतमा खुँडा निर्माण गर्नुभयो ।
उहाँहरुले आफ्ना स्व बुबा मोतिलाल सापकोटा र स्व आमा तनकला सापकोटाको स्मृतिमा परिवारका तर्फबाट संयुक्तरुपमा मन्दिर परिसरमा खुँडा स्थापना गरिदिनुभएको हो ।
उहाँहरुको सहयोगमा निर्माण गरिएको खुँडा मन्दिर परिसरमा राखिएको छ । उक्त खुँडा हेर्न दसैँको अवसरमा श्रद्धालुको निकै घुइँचो लागेको छ । उक्त खुँडाको तौल एक क्विण्टलभन्दा बढी रहेको सहयोगदाता घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी स्व मणिरत्न घिमिरेको स्मृतिमा उहाँकी धर्मपत्नी डिलादेवी घिमिरेको परिवारले एक सय तीन किलो बराबरको घण्टी उपलब्ध गराउनुभएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमसेन केसीले आगामी दिनमा यस्तै मनकारी दाताको सहयोगमा कोतलाई प्रतिष्ठानकै रुपमा अगाडि बढाइने बताउनुभयो ।






