पशुपतिमा ‘भस्मे डन’ को क्षमापूजा

  कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ को पशुपतिमा क्षमापूजा गरिएको छ । चलचित्रको निर्माण टिमले आयोजना गरेको क्षमापूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेतृ स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे सहभागी थिए ।

लेखक तथा निर्माता लामिछानेले सिनेमाको पशुपति क्षेत्रमा करिब ६५ दिन छायाङ्कनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमापूजा गरिएको बताउनुभयो । मान्छेबाट जान अञ्जानमा गल्ती हुने भएकाले यदि त्यसो भएको भए भोलिका दिनमा कुनै क्षति नहोस् भनेर क्षमापूजा गर्ने चलन रहेको उहाँको भनाइ छ ।

चलचित्रमा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेतृ वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिने छन् ।

तपाईको प्रतिक्रिया