दसैँका लागि खसी-बोका र च्याङ्ग्रा बिक्री सुरु, छैन उत्साह

  असोज २९, २०८०

काठमाडौ, २९ असोज : दसैँका लागि काठमाडौंमा व्यापारीहरुले खसी, बोका, च्याङ्ग्रा र भेडा ल्याएर बिक्री गर्न सुरु गरेका छन् । अहिले दैनिक औसतमा तीन हजारको हाराहारीमा खसी, बोका र च्याङ्ग्रा काठमाडौं भित्रिएको कलंकी खसीबजार व्यवस्थापक जीवनराज खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौं भित्रिएका खसी, बोका बिक्री समेत भइसकेका छन् । तर उत्साहजनक रुपमा भने बिक्री वितरण नभएको उहाँको भनाइ छ । व्यवस्थापक खतिवडाले भन्नुभयो, “दसैँका लागि खसी, बोका काठमाडौं आइसकेका छन् । केही बिक्री समेत भएका छन् । तर उत्साह रुपमा भने बिक्री भएको छैन । च्याङ्ग्रा र भेडा भने आज मात्र काठमाडौं आइपुग्छन् ।”

गत वर्ष घटस्थापनादेखि नै दैनिक रुपमा पाँच सय बुकिङ भइरहेकोमा अहिले मुस्किलले सय-दुई सय खसी, बोकाको अर्डर आएको खतिवडाको भनाइ छ । अबको केही दिन धेरै मानिसले खसी, बोका कम मात्रामा किन्ने भएकाले बिक्री खासै नभएको फूलपातीसम्म पर्खेर बस्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ ।  

उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसवर्ष खासै उत्साह छैन, आर्थिक मन्दीको असर पो होे की ? फूलपातीबाट भने माग बढ्छ कि भन्ने आशा छ ।”

उहाँका अनुसार अहिले जिउँदो खसी, बोकाको मूल्य प्रतिकेजी ६५० देखि साय सय रुपियाँसम्म रहेको छ भने जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी एक हजार ३५० देखि एक हजार चारसय रुपियाँसम्म रहेको छ ।

खतिवडाका अनुसार खसी, बोका देशका ३५ जिल्लाबाट आउने गरेका छन् । च्याङ्ग्रा भने हिमाली जिल्ला र तिब्बतबाट समेत ल्याएर बिक्री वितरण गारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खसी, बोकाहरु देशका ३० देखि ३५ जिल्लाबाट उपत्यका ल्याइएको छ । च्याङ्ग्रा भने हिमाली जिल्ला सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ्का साथै तिब्बतबाट समेत ल्याइएको छ ।”

गत वर्ष पनि व्यापारीहरुले जिउँदो खसी, बोका प्रतिकेजी ७२० देखि ७५० रुपियाँसम्म बिक्री गरेका थिए । च्याङ्ग्रा भने एक हजार ३५० रुपियाँमा नै किनबेच भएको उहाँको भनाइ छ । उपत्यकामा बिक्री हुने खसीबोकाहरु ५० प्रतिशत कलंकी खसीबजारबाट नै बिक्री भएको उहाँको भनाइ छ ।

खाद्यका खसी, बोका तथा च्याङ्ग्रा आइपुगे
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने भनेको खसी, बोका तथा च्याङ्ग्रामध्ये तीन सय खसी, बोका काठमाडौं आइपुगेका छन् । व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार आज बिहान मात्र यी खसी, बोका काठमाडौं आएपुगेका हुन । ३७० च्याङ्ग्रा आज बेलुकासम्म उपत्यका आइपुग्ने उहाँको भनाइ छ । १८६ वटा खसी, बोका पनि आउने क्रममै रहेको जानकारी उहाँले दिनुभयो । खसी, बोका तथा च्याङ्ग्रा भोलिबाट मात्र बिक्री गरिने उहाँ बताउनुहुन्छ ।  

पशुको स्वास्थ्य परीक्षण
दसैँको समयमा अस्वस्थ खसी, बोका बिक्री वितरण रोक्नका लागि पशुसेवा विभागले पशुको नियमित स्वास्थ्य परीक्षण गरिरहेको छ ।  विभागले हिजो (आइतबार) देखि दसैँको अघिल्लो दिनसम्म उपत्यकाका विभिन्न ११ स्थानबाट नियमित चेकजाँच गरिरहेको जनाएको छ । 

विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार कलंकी खसीबजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका र चाल्नाखेल राँगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल आकाशे धारा र थानकोट दाउरा डिपो, दशचोक मूलपानी चौर, खसी बजारमा होल्डिङ्ग तथा सङ्कलन भएका पशुहरुको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । स्वस्थ्य पशुपन्क्षीको सिङ्मा हरियो र अस्वस्थ खसीबोकाको सिङ्मा रातो चिह्न लगाइएको सूचना अधिकारी ढकाललाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ । ।

तपाईको प्रतिक्रिया