मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

  असोज २३, २०८०


काठमाडौँ, २३ असोज : कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका हुन् ।

चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको हो । चलचित्र महोत्सवमा ‘साउथ एसिया प्रिमियर’ हुनेछ । उहाँले भन्नुभयो, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।”

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई दर्शाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै सोही महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने ‘साउथ एसिया कम्पिटिसन’अन्तर्गतको प्रतिस्पर्धामा रहेको छ । यसैगरी दिवा शाहले निर्देशन गर्नुभएको नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

सौरभ राईले निर्देशन गर्नुभएको चलचित्र ‘गुराँस’ मा हराएको कुकुरको खोजीमा निस्किएकी दस वर्षीया बालिकाको आँखाबाट खसेको आँसुको कथा प्रस्तुत गरिएको छ । निर्देशक राईकै लेखनमा तयार भएको चलचित्रमा तुलसी खवासले ‘गुराँस’ मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा हुनुहुन्छ ।

यस्तै छोटो चलचित्रको विधामा विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा रहेको छ । उल्लिखित तीनै छोटा चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) हुनेछ ।

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथा छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान समेत गर्दै आएकोे छ । (रासस)

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।