गण्डकी, २० असोज : लेखक शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेश समितिद्वारा आयोजित ‘भर्चुअल’ कार्यक्रममा लेखक स्वयंले कृतिको लोकार्पण गर्नुभयो ।
भुँडीपुराण प्रकाशनले पाठकमाझ ल्याएको उक्त कृतिमा १३ वटा निबन्ध सङ्ग्रहित छन् । समीक्षक रामप्रसाद सुवेदीले लेखक सस्मितबाट नेपाली हास्यव्यङ्ग्य साहित्यले गहकिलो पुस्तक पाएको धारणा राख्नुभयो । “हास्य गुणले ओतप्रोत छोटा र चोटिला निबन्ध यस पुस्तकमा छन्, पढ्दा कुनै पट्यार लाग्दैन”, उहाँले भन्नुभयो, “नेपाली समाजका विकृति र विसङ्गतिप्रति सजीव ढङ्गले कटाक्ष गरिएको छ । निबन्धमा प्रयुक्त भाषा र शैली पनि मौलिक छ ।”
आत्मपरक शैलीमा लेखिएको उक्त निबन्ध सङ्ग्रह उतारता, तार्किकता, सङ्क्षिप्तता जस्ता गुणले युक्त रहेको समीक्षक सुवेदीले बताउनुभयो । “काव्यात्मक शैलीले निबन्धलाई पठनीय बनाएको छ, कतै वर्णनात्मक त कतै व्याख्यात्मक शैलीलाई पनि लेखकले पछ्याएको पाइन्छ”, उहाँले भन्नुभयो ।
प्रा डा षडानन्द पौडेलले हास्यव्यङ्ग्य साहित्य लेखनका क्षेत्रमा धवलागिरि क्षेत्र पछाडि परिरहेका बेला म्याग्दीका लेखक सस्मितको स्तरीय निबन्ध कृति पाठकमाझ आएको बताउनुभयो । उहाँले पुस्तकले हास्यव्यङ्ग्यकामार्फत समाजका विविध विषय र पात्रका प्रवृत्तिलाई उछिनेको बताउनुभयो ।
कृतिमा ‘लाइन’, ‘बेर’, ‘झोला सम्मेलन’, ‘कुरैकुराको खेती’लगायत शीर्षकमा निबन्ध सङ्ग्रहित रहेको लेखक सस्मितले जानकारी दिनुभयो । समाजमा देखेभोगेका विषय र बेथितिलाई लेखनका माध्यमबाट उजागरको प्रयास गरेको उहाँको भनाइ थियो ।
म्याग्दीको बेनी नगरपालिका–६ मा जन्मनुभएका उहाँको यसअघि ‘डायरीमा टाउकेहरु’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित भइसकेको छ । लेखक सस्मितको उपन्यास कृति ‘धुमिल आकाश’सहित, कविता र गजल सङ्ग्रह पनि प्रकाशित छन् ।