उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसीका सिइओ अल्ब्राइटबिच शिष्टाचार भेट

  असोज १६, २०८०

काठमाडौं, १६ असोज : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी, अमेरिकाका सिइओ एलिस अलब्राइटबिच मङ्गलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । 

सिइओ अल्ब्राइइट र उहाँको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक–सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसिसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

साथै नेपालको संसद्ले नै एमसिसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो। उहाँले परियोजनाका लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत  बताउनुभयो। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाका लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाउनुभयो ।

एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।   

त्यसक्रममा सिइओ अल्ब्राइटले पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गर्नुभयो । एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकारअन्तर्गतको संरचना रहेको उहाँले बताउनुभयो । परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत अल्ब्राइटले बताउनुभयो । 

एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपालअमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास सिइओ अल्ब्राइटले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया