निर्वाचन क्षेत्रको स्थलगत अनुगमनमा सभामुख घिमिरे

  असोज ०९, २०८०

झापा, ९ असोज : सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले झापा–२ मा भइरहेका अधिकांश विकास निर्माणका कार्यको आज अनुगमन गर्नुभएको छ । उहाँले शनिश्चरे–जयपुर सडक, शनिश्चरे–खुदनाबारी जोड्ने विरिङ नदीको भत्किएको पुल, विर्तामोड–शनिश्चरे सडकलगायत दर्जनौँ योजनाको स्थलगत अनुगमन गर्नुभएको हो ।

सभामुख घिमिरेसँग अर्जुनधारा नगरपालिकाको समग्र विकास निर्माणका बारेमा आजै छलफल भएको छ । उहाँले सरकार दिगो ढङ्गले चल्न नसकिरहेको अवस्थामा बजेट अभावले विकास निर्माणका काम तीव्र रुपमा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जति पनि ठेक्का सम्झौता भइसकेका सडक, पुल छन् । ती निर्माणका लागि सरकार लागि परेको छ ।”

सङ्घीय सरकार र प्रदेश सरकारबाट योजनामा परेका बजेटलाई कार्यान्वयनमा लैजान आग्रह गर्दै उहाँले सहज रुपमा काम गर्ने वातावरण बनाउन स्थानीयलाई आग्रह गर्नुभयो । उहाँकै पलमा चालु आव २०८०÷८१ मा करिब रु ३५ करोड बढीका ५६ वटा योजना अर्जुनधारा क्षेत्रमा परेका छन् ।

सभामुख घिमिरेले विर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डमा पर्ने बिरिङ नदीको बाढीले भत्किएको पुलको पनि स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले सो स्थानमा नयाँ पुलका निर्माणका लागि पहल सुरु भइसकेको बताउनुभयो ।

साउन महिनामा आएको बाढीले विरिङ खोलाको पुल भाँचिएको थियो । उक्त पुल भारतीय राजदूतावासको सहयोगमा विसं २०६४ मा निर्माण भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया