बाकु, ८ भदौ : अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रमा बसोबास गर्दै आएका आर्मेनियालीहरूको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त सोमबार नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कारबाख क्षेत्रको केही भाग बाकुले नियन्त्रणमा लिएपछि उहाँले आर्मेनियालीहरूको अधिकार सुनिश्चित गर्ने वाचा सार्वजनिक गर्नुभएको हो ।
“पाँच दिन पहिले जे भएको भए पनि हामीले अजरबैजानको काराबाख क्षेत्रमा मानवीय सहायता पठाउन थाल्यौं। इन्धन, खाद्यान्न, औषधि पठाइएको छ,” राष्ट्रपति अलीयेभले टर्कीएका आफ्ना समकक्षी रेसेप तैयप एर्दोगानसँगको भेटमा भन्नुभएको छ । उहाँले काराबाखका बासिन्दा अजरबैजानका नागरिक भएकाले उनीहरूको अधिकार अजरबैजानी राज्यद्वारा ग्यारेन्टी गरिने बताउनुभयो ।
अजरबैजानका राष्ट्रपतिले काराबाखका अर्मेनियालीहरूलाई अजरबैजानी समाजमा पुनः एकीकरण गर्ने प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अजरबैजानको नाखिचेभानको ‘एक्सक्लेभ’मा दुवै देशका राष्ट्रपतिबीच भएको भेटमा नागोर्नो–काराबाखमा पृथकतावादी शक्तिहरूको पराजय भएकामा त्यसको प्रशंसा गर्नुभयो । अङ्काराबाट बाकुलाई आधुनिक हतियार आपूर्ति हुँदै आएको छ । राष्ट्रपति एर्डोगानले काराबाखमा अजरबैजानलाई ऐतिहासिक सफलता हासिल भएको भन्दै उसले गरेको सैन्य कारबाहीबाट नागरिकहरूलाई जोगिएका बताउनुभयो ।
आर्मेनिया र अजरबैजानबीच विगत तीन दशकमा नागोर्नो–काराबाखमा दुईवटा युद्ध भएका छन् । युद्धबाट दुवै पक्षमा ठूलो हताहत हुनका साथै धेरै विस्थापित भएका छन् । विवादित क्षेत्र अजरबैजानको अन्तरराष्ट्रिय मान्यता प्राप्त सीमा भित्र भए पनि त्यहाँ जातीय आर्मेनियालीको बाहुल्य छ ।






