सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा

  असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र मीनराज आचार्यले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको छ ।

चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा राष्ट्रिय पुरस्कारमा निर्णायकले गर्नुभएको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्न पर्ने कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । रिट दायर गर्नुभएका निर्देशक राउतले सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिनु दुःखद् रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोत्कृष्ट विधामा चलचित्र घोषणा नगरिएको विषयमा धेरै चलचित्रकर्मी रुष्ट हुनुहुन्छ । हामी प्रतिनिधि झैँ भएर कारण जान्न रिट दिएका हौँ । किनकि हामी चुप रहँदा गलत परम्परा विकसित हुन्छ । कोही न कोही अगाडि आउनुपथ्र्याे, हामी आयौँ ।”

उहाँ निर्देशित चलचित्र ‘प्रकाश’ राष्ट्रिय पुरस्कारका लागि सिफारिस भएको चर्चा निर्णायक समितिका एक सदस्यले गरेका थिए । यद्यपि निर्देशक राउतले रिट दायर गर्नुको कारण आफ्ना लागि नभई उक्त विधामा न्यायका लागि रहेको प्रस्ट्याउनुभयो ।

निवेदकतर्फका कानून व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया