काठमाडौं, ४ असोज : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानु लाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ (सेप्टेम्बर २३ देखि ३०) सम्म चीनको औपचारिक गर्नु हुने छ ।
प्रधानमन्त्रीसँग उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिद्राराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शङ्करदास वैरागी, राष्ट्रिय सुरक्षा सल्लाहकार मीनबहादुर थापालगायत सहभागी हुनेछन् ।
यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीका साथै व्यवसायी समुदायका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले हाङ्जाओमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँले आफ्ना समकक्षी प्रधानमन्त्रीली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै बेइजिङमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ ।
उहाँले सीसीआईटी र एफएनसीसीआई र बेइजिङस्थित नेपाली दूतावासले संयुक्तरुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उहाँले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल र चीन असल मित्र, निकट छिमेकी र विश्वसनीय साझेदार हुन । यो भ्रमणले हाम्रो सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रलाई विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।







