नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक

  असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा सो म्युजिक भिडियो विमोचन गर्नुभयो । गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत सो कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।

नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो । उहाँका शब्दलाई शोभन सायजुले छायाचित्र र युवा सङ्गीतकार राजेन्द्र बजगाइँले लय दिनुभएको छ । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गर्नुभएको गीतमा सुभाष तिमिल्सिना, गीता पाण्डेलगायत गायकका स्वर छन् ।

सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिनुभयो । “सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो”, शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भन्नुभयो, “वीर पुर्खाको योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।”

उपप्राध्यापक हेम भण्डारीले सो गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिनुभयो ।

म्युजिक भिडिायो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जानकारी दिनुभयो । सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया