काठमाडौँ, २ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजार हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय तीज मनाउने क्रममा संस्कृतिको संरक्षणभन्दा पनि भड्किलो प्रस्तुति देखिएको टिप्पणी गर्दै उहाँले चाडपर्वलाई सहज तुल्याउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तीज मनाउनेभन्दा पनि देखाउने भएको छ । होटल तथा भड्किलो तरिकाले मनाइने तीजले समाजलाई गलत सन्देश प्रवाह गर्नुका साथै संस्कृति संरक्षणमा टेवा पुर्याउन सकेको छैन ।”
चलचित्र विकास बोर्डको आयोजनामा चाबहिलमा आज सम्पन्न ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ मा मन्त्री शर्माले चलचित्रकर्मीलाई चलचित्रमार्फत सही सन्देश प्रवाह गर्न र चाडपर्वलाई भड्किलो नभई सांस्कृतिकरुपमा मनाउन आग्रह गर्नुभयो ।
“समाजले पत्याएका मान्छेले अगाडि बढेर चाडपर्वलाई भड्किलो हुन नदिन भूमिका निर्वाह गर्नुपर्छ । तीजमात्र नभई दसैँ, तिहारलगायत पर्व अब सामान्य मानिसले मनाउन सहज देखिएको छैन । यसले राम्रो सङ्केत गरेको छैन”, मन्त्री शर्माले भन्नुभयो ।