कमला ह्यारिसको जीवनी नेपालीमा

  असोज ०२, २०८०

काठमाडौं, २ असोज : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गर्नुभयो ।

विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गर्नुभएको थियो । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र सङ्घर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताउनुभयो । ‘‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने खालको छ,’’ उहाँले भन्नुभयो ।

रङ्गभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानकाक्रममा उनीहरूको परिस्थितबारे हृयारिसले गरेको अनुभव आफूलाई मन परेको शाहले बताउनुभयो । आप्रवासी आन्दोलनदेखि समलिङ्गी, तेस्रोलिंगी, आर्थिक व्यवस्थालगायतका विषय पनि महत्त्वका साथ आएको उहाँको भनाइ थियो ।

एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका सङ्घर्षलाई पुस्तकले बयान गरेको छ ।

जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका सङ्घर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा पुस्तकमा भेटिन्छ ।

तपाईको प्रतिक्रिया