काठमाडौँ, २ असोज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ । माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो ।
गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’ को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।”
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल अघि बढाएकाले त्यस अवस्थामा पार्टीको नाम फेर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा माओवादी केन्द्रको नाम फेरिँदैन । अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी भएकाले त्यस अवस्थामा पार्टीको नाम फेरिन सक्छ । त्यो पनि पार्टी महाधिवेशनपछि मात्रै नाम फेरिने हो ।”
माओवादीले धेरै पटक पार्टीको नाम फेरिसकेको छ । तत्कालीन मोहनविक्रम सिंहसँग पार्टी विभाजन गरेपछि पार्टीको नाम नेकपा मशाल राखिएको थियो । त्यतिबेला नेतृत्वमा मोहन वैद्य ‘किरण’ हुनुहुन्थ्यो । पार्टी नेतृत्वमा प्रचण्ड आउनुभएपछि नेकपा एकता केन्द्र, नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र पार्टीको नाम बनाइएको थियो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको थियो । सर्वोच्च अदालतबाट नेकपा विभाजन भएपछि माओवादी केन्द्र पुनर्गठन गरिएको थियो । हाल माओवादी केन्द्रको नाम महाधिवेशनमा फेर्ने गरी छलफलमा ल्याएको छ ।
माओवादीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपत्यकाभित्रै तीनमहिने अभियानमा खटाउन निर्देशन दिएको छ । संसद् बैठक र विषयगत समितिका बैठक प्रभावित नहुने गरी पार्टी अभियानमा खटाउने भएको छ । उनीहरूलाई पार्टीमातहतका कमिटीले निर्णय गरेर आवश्यकता अनुरूप परिचालन गर्ने भएका छन् ।
माओवादी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई सांस्कृतिकजन्य कमजोरी गरेपछि पार्टीबाट छ महिना निलम्बन गरिएको छ । प्रदेशबाट चौधरीलाई निलम्बन गर्न सिफारिस भएपछि पदाधिकारी बैठकले अनुमोदन गरेको हो । उहाँले पार्टी नेताहरूसँग छलफल गर्दा सांस्कृतिकजन्य कमजोरी स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।
बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर कार्यक्षेत्र तोकिएको छ । यस्तै केन्द्रीय सदस्य जगप्रसाद शर्मा, नारायण अधिकारीलाई लुम्बिनी प्रदेश अनुगमन र स्कुल विभाग जिम्मेवारी दिएको गोरखापत्र अनलाइनमा उललेख छ ।