सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु

  भदौ ३१, २०८०

काठमाडौं, ३० भदौ : हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो ।

कुटपिटपश्चात नेपाल चिकित्सक सङ्घले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहने बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफूहरुले बुँदागत रुपमा विषयहरु राखेको भन्दै सरकारले दोषीलाई पक्राउ गर्ने सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । कार्कीले छलफलको मुख्य विषयमा कुरा मिल्न नसकेको जानकारी दिनुभयो ।

डा.कार्कीले भन्नुभयो, ‘७२ घण्टा कटेपछि स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गरेकोमा नेपाल सरकारले स्वास्थ्यमन्त्रीको पहलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । त्यसमा गृह, कानुन, प्रधानमन्त्री कार्यालयको सहसचिव र हाम्रो तर्फबाट म लगायतका टिम छौं। हामीले बुँदागत रुपमा छलफल गरेका छौँ ।’

उहाँले छलफलको मुख्य जडमा केही कुरा नमिलेको बताउनुभयो। उहाँले स्वास्थ्य सुरक्षाका कुरा पनि उठाएको जानकारी दिनुभएको छ । सङ्घको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द छन्, न्युज एजेन्सी नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया