पेरिस, ३० भदौ : इरानी अधिकारीहरूले महसा अमिनीको मृत्युको बार्षिकीमा आयोजित कार्यक्रममा परिवारका सदस्य तथा शुभचिन्तकलाई भाग लिन रोक लगाएका इरानी सञ्चारमाध्यमले जनाएका छन् । अमिनीका बुबालाई उहाँकै घरमा थुनेर राखिएको इरानी मानव अधिकारवादी सङ्गठनहले बताएका छन् ।
सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि लागू गरिएको महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको केही दिनपछि २२ वर्षीया इरानी कुर्द अमिनीको गत बर्ष मृत्यु भएको थियो । उहाँको परिवारले उहाँको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको बताएको छ तर इरानी अधिकारीहरुले यसलाई अस्वीकार गरेका छन् ।
सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्रको शासन प्रणालीलाई खुला चुनौती दिँदै महिलाहरूले आफ्नो अनिवार्य हिजाब च्यात्दै हप्तौंसम्म चलेको प्रदर्शनमा उहाँको मृत्युप्रतिको आक्रोश तीव्र रूपमा फैलिएको छ ।
महसा अमिनीका पिता अमजदलाई शनिबार बिहानै पक्राउ गरिएको र उचिहानमा स्मृति सभा नगर्न चेतावनी दिएपछि रिहा गरिएको कुर्दिस्तान मानव अधिकार सञ्जाल (केएचआरएन), १५०० तासवीर मोनिटर र नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) ले जनाएको छ ।
उहाँलाई बाहिर जान नदिन परिवारको घरबाहिर सुरक्षाकर्मी तैनाथ गरिएको समूहले छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरेको छ । “अमजद अमिनीलाई नजरबन्दमा राखिएको छ । सुरक्षा बलले उहाँलाई आफ्नी छोरीको चिहानमा जानबाट रोकिरहेको छ,” आईएचआरले भनेको छ ।
सरकारी समाचार संस्था आईआरएनएले अमिनीका पितालाई छोटो समय हिरासतमा राखिएको भन्ने समाचारलाई ‘झुटो’ भन्दै ‘जनतालाई विरोध गर्न उक्साउने’ उद्देश्यले यस्तो गरिएको बताएको छ ।
अमजद अमिनीले बार्षिक स्मारक समारोह आयोजना गर्ने घोषणा गरेपछि गुप्तचर अधिकारीहरूले गत हप्ता नै उहाँलाई बोलाएका थिए । अमिनीका एक काका सफा आइलीलाई सेप्टेम्बर ५ मा साकेजबाट पक्राउ गरिएको थियो ।






