सूचना प्रविधि सुशासन र समृद्धिको आधार : सञ्चारमन्त्री

  भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपाल :उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताउनुभयो ।

“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौँ”, उहाँले भन्नुभयो, “युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताउनुभयो । “यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ”, उहाँले भन्नुभयो ।

अहिले नेपालमा बौद्धिक व्यक्ति पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उल्लेख गर्दै उहाँले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चितता गर्ने क्षेत्रका रूपमा सूचना प्रविधि हुने पनि दाबी गर्नुभयो ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उहाँको भनाइ छ ।

यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा ‘डिजिटलाइजेसन’लाई प्रभावकारी बनाउन सबै सरोकारवाला उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री शर्माले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्त्वपूर्ण आधार बन्दै गएको सन्दर्भमा यो क्षेत्रमा युवालाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवर्तनमा प्रोत्साहित गर्न यस वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

“सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिस्पर्धी क्षमता विकास, व्यावसायिकता वृद्धि, उच्चगतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाबीचको समन्वय र सहकार्यमा जोड दिएको छ”, उहाँले भन्नुभयो, “यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायको सहयोगमा सूचना प्रविधिको क्षेत्रमा छोटो प्रकृतिका व्यावसायिक तालिम दिने तयारी थालेको छ, यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने अपेक्षा मन्त्रालयको रहेको छ ।”

तपाईको प्रतिक्रिया