डेट्रोइट (संयुक्त राज्य अमेरिका), २९ भदौ : वेतन वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।
युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिशिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जीप कारखानामा काम ठप्प पारेका छन् । मजदूहरूको सेवा सुविधासम्बन्धी चारवर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।
कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदूरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् । तीनवटै कम्पनीमा मजदूर एकैसाथ आन्दोलनमा उत्रिदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।






