१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री

  भदौ २७, २०८०

काठमाडौं, २७ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताउनुभयो । उहाँले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिको आवश्यकता रहेको भए पनि विदेश जाने पद्धतिले समस्या निम्त्याएको दाबी गर्नुभयो।उहाँले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिसी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताउनुभयो ।

उहाँले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘विदेशमा पठाउने कन्सलट्यान्सीले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन गरीरहेका छन् । तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन । विदेशमा जाने ठूलो समस्यामा हुनुहुन्छ । स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन् । नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग रहेको छ । नेपालको शिक्षक बन्न चाहेकका छैनौं । विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो । १२ कक्षा पास गर्ने बित्तिकै विदेशमा जाने ट्रेन्डलाई रोक्न अभियान थाल्नुपर्छ । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ । नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिसी हुने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्न सरकारले लगानी गर्नुपर्छ ।’’ 

उहाँले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक लगानी मुलुकको हितको लागि भए/नभएको हेरेर मात्रै लिने नीति लिनु आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया