काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।
वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजेसम्म राखिने र तत्पश्चात् परिवारका सदस्यले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उहाँको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।






