नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

  भदौ २५, २०८०

काठमाडौं, २५ भदौनक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

विदुर नगरापालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक मञ्जु कुमारी थापा (ओझा) माथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार शिक्षक थापाले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आज थापाविरुद्ध मुद्दा दायर गरिएको हो । 

प्रवक्ता दाहालले थापाले विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो ।

सोही आधारमा शिक्षक थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले बताउनुभयो । (गोरखापत्र )

तपाईको प्रतिक्रिया