काठमाडौं, २४ भदौ : कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार बुद्धिजीवी कीर्तिपुर नगर समितिको सचिव डा. तिलक केसीको सञ्चालन र अध्यक्ष प्रकाश महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत नेकपाका उपमहासचिव, सम्पर्क–समन्वय प्रदेश तथा पार्टी स्कुलिङ विभागका इन्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्य, पार्टीका केन्द्रीय सदस्य तथा तीन महिने अभियानका कीर्तिपुर नगरपालिका इन्चार्ज सूर्य सुवेदी पथिकको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बुद्धिजीवी सङ्गठन कीर्तिपुरका इन्चार्ज मोती नेपालीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भयो । कार्यक्रमका बारेमा बुद्धिजीवी सङ्गठन काठमाडौँका अध्यक्ष प्रा. डा. शिवशरण महर्जनले आफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा पथिकले तीन महिने अभियानमा कीर्तिपुरका बुद्धिजीवीले खेल्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नुभयो। प्रमुख अतिथि गिरिराजमणि पोखरेलले भोलिका दिनमा प्रशिक्षकले के–के विषयमा प्रशिक्षण दिनुपर्ने, पार्टीले अङ्गालेको तीन नीति, तीन मोर्चा र तीन औजार सम्बन्धीको अवधारणा माथि प्रकाश पार्नु भयो ।
उहाँले तीन महिने अभियान अन्तर्गत पार्टीले गर्नुपर्ने मुख्यतः कार्यहरू पार्टी सङ्गठन निर्माण र परिचालन, जनताको घरदैलोमा जाने, उत्पादनमूलक कार्यमा सहभागिता जनाउने, प्रविधिमैत्री पार्टी निर्माण गर्ने र पार्टीका नेताहरूले सर्वहारा वर्गीय जीवनशैली अपनाउने बारेमा विशेष जोड दिन आग्रह गर्नुभयो।
केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग कीर्तिपुरका इन्चार्ज डा.चन्द्रकान्त पौडेलले पार्टीका गतिविधिबारे चर्चा गर्नु भयो ।कार्यक्रममा स्वतन्त्र पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएका वार्ड नं ४ का सुगम पोखरेललाई रातो टिका र खादा लगाई स्वागत गरिएको थियो।