जकार्ता, २० भदौ : शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलन छायामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीचच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायामा परेको हो ।
अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् ।
दश सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुनुभएको छभने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै हुनुहुन्छ ।
“हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ, हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ… सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,” चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भन्नुभयो ।
प्रधानमन्त्री मोदी आज जकार्ता जाँदै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जकार्तामा २०औँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन आज अपराह्न नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको एसियन न्युज इन्टरनेशनलले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा प्रधानमन्त्री मोदी जकार्ता जान लाग्नुभएको हो । बीसौँ आसियान–भारत शिखर सम्मेलन र १८औँ पूर्वी एशिया शिखर सम्मेलन भोलि बिहीबार हुनेछन् ।
आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियाले यस वर्ष भारतको अध्यक्षतामा आगमी शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीमा हुने युरोपेली सङ्घसहित १९ विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको अन्तरसरकारी सङ्गठन जी २० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीको इन्डोनेसिया भ्रमण हुन लागेको हो । इन्डोनेसिया जी २० को एक हिस्सा हो किनभने गत वर्ष उक्त देश जी २० को अध्यक्ष थियो । बिहीबार हुने आसियान–भारत शिखर सम्मेलनमा भारत र दक्षिण पूर्वएशियाली राष्ट्रहरूबीचको सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीमा रुपान्तरण गर्ने प्रयास हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । (रासस)






