खलङ्गा, १९ भदौ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत बर्तालु महिलाले गौरा पर्वको दोस्रो दिन आज ‘बिरुडा’ धुने परम्पराअनुसार आज बिरुडा धोएर ‘नानी गौरा’ मनाइएको छ ।
बिरुडा पञ्चमीका दिनअर्थात् गौराको पहिलो दिन गहत, गुरुँस, मास, गहुँ र केराउ गरी पञ्च अन्नको मिश्रण भिजाइने गरिन्छ, जसलाई ‘बिरुडा’ भन्ने गरिन्छ । बर्तालु महिलाले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारामा गएर बिरुडा धोइने प्रचलन रहेको संस्कृतिविद् देवराज विष्टले जानकारी दिनुभयो ।
नानी गौराका दिन सवाँ, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ ।
गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठो मसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित बर्तालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गर्दछन् । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन मानिएको छ । पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरेको मालिकार्जुन धामका मुखिया धीर्कसिंह धामीले बताउनुभयो ।
सुदूरपश्चिमका केही ठाउँमा यस वर्ष भदौ ७ गते गौरापर्व मनाए पनि दार्चुलाको लेकम क्षेत्रमा भदौ २१ गते गौरापर्व मनाइने भएको छ ।






