जेनेभा, १९ भदौ : इरिट्रियाका शरणार्थीबीच सप्ताह अन्तमा भएको झडपपछि इरिट्रियाका नागरिकको सामूहिक निस्कासन नगर्न इजरायललाई आग्रह गर्दै यसले ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ गर्ने र गम्भीर मानवीय परिणाम निम्त्याउन सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले इरिट्रियाको सरकारी कार्यक्रमविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेपछि भएको झडपमा २०० भन्दा बढी घाइते भएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
इजरायलको व्यापारिक केन्द्र तेल अभिभमा सरकारी कार्यक्रम आयोजना हुन नदिन सयौँको सङ्ख्यामा सरकार विरोधी इरिट्रियालीहरू भेला भएपछि झडप सुरु भएको थियो ।
जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै विलियम स्पिन्डलरले भन्नुभयो, “यूएनएचसीआरले शान्ति र संयमका लागि आह्वान गर्दछ र सबै पक्षलाई स्थितिलाई थप बिगार्न सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछ ।”
घटनाहरूको लागि ‘जवाफदेहिता स्थापित गर्न महत्वपूर्ण छ’ भन्ने कुरामा जोड दिँदै उहाँले इजरायललाई देशमा इरिट्रियालीविरुद्ध व्यापक कदम नचाल्न चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, “इरिट्रियाका सबै शरणार्थीलाई असर गर्ने कुनै पनि निर्णय वा पुनःस्थापनाको घटनाअन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुनेछ ।”
क्षतिपूर्ति, वा कसैलाई यातना, क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायको सामना गर्न सक्ने देशमा फिर्ता गर्ने सामूहिक सजायलाई अन्तर्राष्ट्रिय कानुनअनुसार प्रतिबन्धित गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले झडपमा भाग लिएका एक हजार इरिट्रियालीलाई देश निकाला गर्नेबारे विचार गरिरहेको बताएपछि उहाँको यो टिप्पणी आएको हो ।
विश्वको सबैभन्दा अधिनायकवादी राष्ट्रमध्येको एक मानिएको इरिट्रियाको अवस्था ‘अपरिवर्तित रहेको’ मा जोड दिँदै स्पिन्डलरले चेतावनी दिनुभयो, “मानिसहरूलाई त्यहाँ फिर्ता पठाउँदा ‘अकल्पनीय मानवीय परिणामहरू’ निम्तिन सक्छ ।”
उहाँले इजरायलमा बसोबास गर्ने अधिकांश शरणार्थी शान्तिपूर्ण र कानूनको पालना गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेप्टेम्बर २ मा भएको घटना अत्यन्त खेदजनक छ र यसले इजरायलमा रहेका सबै इरिट्रियाली समुदायको व्यवहारलाई प्रतिबिम्बित गर्दैन ।”
जुन महिनाको तथ्याङ्कअनुसार इजरायलमा १७ हजार ८५० इरिट्रियाली शरणार्थी रहेका छन् । यूएनएचसीआरका अनुसार शनिबार भएको झडपमा १७० भन्दा बढी शरणार्थी र दर्जनौँ प्रहरी अधिकारी घाइते भएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयद्वारा कानून कार्यान्वयन गर्ने निकायबाट बल प्रयोगको निन्दा गरेको छ ।
“अस्पतालहरूले गोली लागि चोट लागेका घाइतेहरू अस्पतालमा पुगेकोले हामी बुझ्छौं कि प्रदर्शनका क्रममा प्रत्यक्ष गोली प्रयोग गरिएको थियो,” अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी चोटपटकको उच्च सङ्ख्याबाट चिन्तित छौं र घटनाको गम्भीर अनुसन्धान हुनुपर्दछ भन्ने हाम्रो भनाइ हो ।”






