लिब्रेभिल (ग्याबोन), १८ भदौ : ग्याबोनका सैनिक नेता ब्रिस ओलिगुई न्गुमाले देशको अन्तरिम राष्ट्रपतिको रुपमा शपथ लिनुभएको छ । उहाँले जनतालाई साक्षी मानेर ईश्वरका नाममा शपथ लिँदै गणतान्त्रिक शासन व्यवस्थालाई इमानदारीपूर्वक जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गत बुधबार ग्याबोनको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गा पुनः निर्वाचित भएको घोषणा गरेको केही बेरमै जनरल न्गुमाले बोङ्गोविरुद्धको सत्ता विप्लवको नेतृत्व गरेर उक्त निर्वाचन वदर गरिएको जनाउँदै देशको शासन व्यवस्था सेनाले लिएको राष्ट्रिय टेलिभिजनबाट घोषणा गर्नुभएको थियो ।
सैनिक शासकलाई अन्तरिम राष्ट्रपतिका रुपमा शपथ गराउन आयोजित समारोहमा हर्षोल्लासपूर्वक उपस्थित भएका नागरिकहरूको भीड जम्मा भएको थियो । शपथ समारोहमा उपस्थित भएका एएफपीका एक जना पत्रकारले नयाँ राष्ट्रपतिको शपथमा ठूलो सङ्ख्यामा जनसाधारण सहभागी हुनुलाई सेनाप्रति जनताको समर्थन रहेको पुष्टि भएको बताएका छन् । सैनिक शासकको शपथसँगै ग्याबोनमा बोङ्गो वंशको ५५ वर्षको शासन अन्त्य भएको छ ।






