जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय

  भदौ १८, २०८०

दमौली (तनहुँ), १८ भदौ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिका रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

“भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षणमा नेवार समुदाय लागिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ ।

यहाँका नेवार समुदायले बन्दीपुरमा व्यापार मात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएको उहाँको भनाइ छ । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् ।

विगत वर्षझैँ यस वर्ष पनि बन्दीपुरमा बाघजात्रा देखाउने तयारी गरिएको छ । खड्गमाई सांस्कृतिक परिवारको सक्रियतामा आज साँझ बन्दीपुरमा बाघजात्रा देखाउन लागिएको परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले जानकारी दिनुभयो । बाघजात्राका लागि स्थानीय समुदायले निम्तो बाँडेका छन् ।

प्रत्येक वर्ष दुई दिन बाघजात्रा देखाउने गरिए पनि यसवर्ष भने विशेष कारणवश एकदिनमात्रै बाघजात्रा देखाउन लागिएको हो । बाघजात्राको दिन बाघ छट्याएर हिँड्ने, दुःख दिने गर्छ भने सिकारीले लखेटेर बाघलाई मार्ने गरिन्छ । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिहरुले अभिनय गर्नेछन् ।

बन्दीपुरमा २० गते रोपाइँ जात्रा, त्यसको तीन दिनमा भीमसेन जात्रा र तीजको भोलिपल्ट चौथी पूजा प्रस्तुत गरिनेछ । आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइँसराइ गरी आएका थिए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरुमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।

सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशी बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरुकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।

त्यहीबेलादेखि नै बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बताइन्छ । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

बन्दीपुर बजारमा मात्रै एक सय ३४ घरधुरी नेवार समुदायको छ । बन्दीपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दीपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया